काठमाडौँ, १७ बैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुकुम पुग्ने खबर पाएपछि मुसिकोट–२, रातामाटाकी कमला चन्दलाई कतिखेर उनलाई भेटौँ भन्ने लागिरह्यो । उनी एकपटक आठ वर्ष पहिलेको आफ्नो जीवनमा फर्किइन् । सम्झिदै उनको शरीरमा काँडा उम्रियो ।
आज भन्दा झण्डै ९ वर्ष अघि अर्थात २०६६ साल भदौ २४ गते जतिबेला कमलालाई सुत्केरी व्यथाले च्यापेको थियो, उनी जिल्ला अस्पताल सल्लेमा भर्ना भइन् । अत्यधिक रक्तश्रावका कारण उनलाई जिल्लामा उपचार गर्न सक्ने अवस्था भएन । उनी मृत्युसँग पौठेजोरी खेलिरहेकी थिइन् । त्यतिबेला उनै नेपाल देशका प्रधानमन्त्री थिए ।कमलालाई लाग्छ, माधव नेपाल नभएको भए उनी अहिले यो दुनियाँमा सायद हुने थिइनन् । किनकि, उनको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकले बाहिर नलिए उनको ज्यान खतरामा रहेको बताइसकेका थिए । तत्काल जिल्ला बाहिर लिन न साधन थियो, न आर्थिक अवस्था । तर, उनको जीवनमा माधव नेपाल ‘भगवान’ बनेर प्रक्रट भए । त्यसैले उनी, नेता नेपाललाई बुवा मान्छिन् ।कमलाले आफ्नो जीवनलाई पुनर्जन्म दिएका नेपाललाई भेट्न हतार हुनु स्वभाविकै हो । त्सैले उनी सोमबार बिहान हतार हतार एक छोरी र एक छोराको साथ नेता नेपालसँग भेट गर्न पुगिन् । उनीसँगै उभिएर फोटो पनि खिचिन् । रुकुम पुगेका नेपालले आफैले पनि कमलाको बारेमा चासो समेत राखेका थिए । उनको घरपरिवारको अवस्था बुझेका थिए । नेता नेपालले कमलाका चार वर्षका छोरा सकिन र ११ वर्षकी छोरी निरुतालाई पढाउने जिम्मा समेत लिएका छन् ।
प्रधानमन्त्रीको हैसियतले कामको सिलसिलामा सुदूरपश्चिम पुगेका नेपाल नेपालगञ्ज विमानस्थलमा आएको खबर पाएपछि एमाले नेता खेममान खड्काले चन्दको अवस्थाका बारेमा बताए । त्यसपछि नेपाल नेपाली सेनाको हेलिकप्टर लिएर रुकुम पुगे । अनि त्यही हेलिकप्टरमा राखेर कमलालाई काठमाडौँ पुर्याए । त्यतिबेला कमलाको ज्यान त बच्यो तर, बच्चा बाँच्न सकेन ।
कमलाका श्रीमान अहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार छन् । उनी त्यहाँ बिरामी परेका छन् । कमलाले आफ्नो श्रीमानको विषयमा बताएपछि नेता नेपालले उनको उद्धार र स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि कमलाले चार वर्ष अघि काठमाडौँ पुगेरै नेता नेपाललाई भेटेकी थिइन् ।
९ वर्ष अघिको घटना सम्झिदै कमला भन्छिन्, ‘बुवाले (नेपाल)ले मलाई नयाँ जीवन दिनुभयो, उहाँकै कारण मैले अर्को जीवन पाएँ ।’
No comments:
Post a Comment