सुन तस्कर र सिण्डिकेटपछि गृहमन्त्रीको ध्यान रक्सीमा - Sital Chautari .com

ताजा अपडेट



Monday, May 7, 2018

सुन तस्कर र सिण्डिकेटपछि गृहमन्त्रीको ध्यान रक्सीमा



आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरे । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताए ।
देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
केही सांसदका साथै अनेम संघका पदाधिकारीहरु संलग्न महिला नेतृको टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरे ।
यसक्रममा मन्त्री थापाले सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्न सक्दा राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने बताए ।
रक्सीमा डुबेर समृद्धि आउँदैन भन्ने लेख अनलाइनखबरमा लेखेर चर्चा पाएका पूर्वसचिव एवं सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटालाई पनि महिला सञ्जालको छलफलमा निम्त्याइएको थियो । त्यहाँ बास्कोटाले सिंगै देशलाई मदिरामुक्त घोषणा गरिनुपर्ने माग गृहमन्त्री बादल समक्ष राखे ।
पूर्वसचिव बास्कोटाले मदिरा नियन्त्रणका उपायहरुका सम्बन्धमा कार्यपत्र नै प्रस्तुत गरेका थिए ।
छलफलमा महिला नेतृहरुले मदिराबाट सबैभन्दा बढी पीडित महिला रहेको भन्दै आफूहरुले गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहेको बताए । उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिए ।

No comments: