काठमाडौं, चैत १९ – वर्ष २०७४ नेपाली सिनेमाका लागि शुभ रह्यो । यो वर्ष नेपाली सिनेमाको बजारमा विदेशी सिनेमाको पकड कमजोर रह्यो भने नेपाली सिनेमाले आफ्नो बजारलाई फराकिलो बनाउँदै लग्यो ।
सिनेमाको बजार बढ्दै जाँदा यो वर्ष केही कलाकारहरुले अभिनयमा आफ्नो भविष्य खोज्दै सिनेमा प्रवेश गरे । जसमध्ये केहीलाई डेब्यू फाप्यो भने केहीको डेब्यू सामान्य रह्यो ।अभिनेत्री जसिता गुरुङले यही वर्ष सिनेमामा ब्रेक लिँदै छिन् । उनको अभिनय रहेको सिनेमा ‘लिलिबिली’ यही वर्षको अन्त्यमा नयाँ वर्ष २०७४ को अवसर पारेर प्रदर्शनमा आउँदैछ । जसितालाई डेब्यू कत्तिको फाप्ला त्यसको लागि भने हामीले अर्को वर्ष कुर्नु पर्नेछ । तर यो साम्रगीमा भने हामी २०७४ मा डेब्यू गरेका केही कलाकारहरुको बारेमा चर्चा गर्दैछौँ ।
दीपिका प्रसाईँ
अभिनेत्री दीपिका प्रसाईँ लुक्स र अभिनय दुवैका हिसाबले परफेक्ट अभिनेत्रीको रुपमा भित्रिईन् यो वर्ष । सिनेमामा विकिनी गर्लको रुपमा प्रस्तुत भएकी उनले विकिनी बडीका कारण पनि खुबै चर्चा पाइन् । उनको अभिनयको तारिफ पनि उत्तिकै भयो ।
दिवाकर भट्टराईको निर्देशन रहेको सिनेमा ‘ऐश्वर्य’बाट दीपिकाले यो वर्ष सिनेमामा डेब्यू गरेकी हुन् । सिनेमामा उनी शीर्ष ‘ऐश्वर्य’ कै भूमिकामा थिइन् । ‘ऐश्वर्य’ पछि दीपिका फेरि कुनै गतिलो सिनेमाबाट कम ब्याक गर्ने तयारीमा रहेको बुझिन्छ ।
अदिती बुढाथोकी
डेब्यू गरेर सर्वाधिक चर्चा पाउने अभिनेत्री हुन् अदिती बुढाथोकी । सिनेमामा अनुबन्धित भएदेखि नै अदिती सुन्दरताका कारण चर्चामा रहिन् । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण तथा सुरेन्द्र पौडेलको निर्देशन रहेको सिनेमा ‘कृ’बाट अदितीले डेब्यू गरिन् ।
उनको अभिनयको खुलेर तारिफ गर्ने धेरै नभेटिए पनि उनको अभिनय नराम्रो भन्नेहरु भने भेटिएनन् । सिनेकर्मी र दर्शकले उनलाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिएका छन् ।
तर, सिनेमा ‘कृ’ को प्रचार–पसारको क्रममा नेपाल आएकी अदिती अहिले फेरि मुम्बईमै छिन् । उनले नेपाली सिनेमालाई अहिले नै समय दिने सम्भावना कम छ । अदिती यतिबेला भारतीय विज्ञापन, म्यूजिक भिडियो र फोटो शुटहरुमा व्यस्त छिन् ।
विनोद न्यौपाने
सिनेमा ‘कान्छी’ मा नकारात्मक भूमिकामा प्रस्तुत भएका अभिनेता विनोद न्यौपाने अर्को वर्ष भने सकारात्माक भूमिकामा देखा पर्दैछन् । केकी अधिकारीको पहिलो निर्माण रहेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’ मा उनलाई दर्शकले मुख्य अभिनेताको भूमिकामा देख्न पाउनेछन् ।
स्वेता खड्काको ‘कान्छी’ मा उनी भिलेनको भूमिकामा थिए । तर, दर्शकलाई उनको त्यही भूमिकामा पत्याए । यहि वर्ष डेब्यू गरेका विनोदलाई सिनेमा फाप्ने क्षेत्र देखिएको छ । तर, कत्तिको फाप्ने हो त्यसको लागि भने ‘कोहलपुर एक्सप्रेस’ को प्रदर्शनसम्म कुर्नु पर्नेछ ।
सारा सिर्पाइली
रामजी लामिछानेको निर्देशन रहेको सिनेमा ‘रुद्र’बाट अभिनेत्री सारा सिर्पाइलीले यसै वर्ष सिनेमामा डेब्यू गरेकी हुन् । पहिलो सिनेमाबाट उनको अभिनयको तारिफ भयो । यसैको फलस्वरुप उनले सिनेमा ‘पिंजडा ब्याक अगेन’ मा पनि काम गर्ने अवसर पाइन् । ‘रुद्र’को तुलनामा यो सिनेमा कारोबारमा सफल रह्यो ।
यी दुई सिनेमामा साराको अभिनय मन पराएका निर्देशक सुब्रतराज आचार्यले आफ्नो दोस्रो निर्देशन रहने सिनेमा ‘सुश्री सम्पत्ति’ मा लिए । साराको तेस्रो सिनेमा ‘सुश्री सम्पत्ति’ को छायांकन पनि समाप्त भइसकेको छ ।
सुरज पाण्डे
२०७४ को नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘लभ लभ लभ’ बाट अभिनेता सुरज पाण्डेले अभिनयमा डेब्यू गरे । सिनेमामा कान नसुन्ने पात्रको रुपमा प्रस्तुत भएका सुरजले यही सिनेमाको लागि भनेर नै २० किलो तौल घटाएका थिए ।
सिनेमाको लागि कडा मेहनत गरेका सुरजको पर्दामा अभिनय भने खासै राम्रो नभएको प्रतिकृया धेरैको आयो । उनको अभिनयलाई धेरैले कच्चा नै भने । आफ्नै लगानीमा हिरो बनेका सुरजको डेब्यू त्यति फलदायी रहेन ।
अश्लेषा ठकुरी
अभिनेत्री अश्लेषा ठकुरीको सौभाग्य थियो आशुसेन फिल्स मार्फत सिनेमामा डेब्यू गर्न पाउनु । रामशरण पाठकको निर्देशन रहेको सिनेमा ‘प्रेम गीत २’ बाट अश्लेषाको डेब्यू भयो । ‘प्रेमगीत’ आफैमा हिट सिरिज थियो जसले अश्लेषालाई धेरै फाइदा पुर्याउने सम्भावना देखिएको थियो ।
उनले यो चर्चित सिनेमामा काम गरेबापत चर्चा त बटुलिन् तर अभिनयबाट भने खासै तारिफ पाइनन् । ‘प्रेमगीत २’ ले र सिनेमाका मुख्य अभिनेता प्रदीप खड्काले जति तारिफ बटुले अश्लेषा भने त्यति नै ओझेलमा परिन् । साउनमा प्रदर्शन आएको यो सिनेमा पछि अश्लेषा कही–कतै कुनै पनि सिनेमामा काम गर्ने तयारीमा रहेको बुझिएको छैन ।
मिरुना मगर
यसै वर्ष अभिनेत्री मिरुना मगरले सिनेमा ‘लालपूर्जा’ मार्फत सिनेमामा डेब्यू गरिन् । मिरुनालाई पहिलो सिनेमाले राम्रो अभिनय गर्ने अभिनेत्रीको रुपमा स्थापित गरिदिएको छ ।
थियटरमा नाटक गर्दै गर्दा सिनेमामा प्रवेश गरेकी उनी अब छिट्टै नै अर्को सिनेमामा पनि काम गर्दैछिन् । मिरुना १३ वर्षसम्म धरानमा बसेकी हुन् भने अहिले उनी परिवारसँग बेलायतमा बस्दै आएकी छिन् । ‘लालपूर्जा’ कारोबारमा औषत रहेको सिनेमा हो ।
स्वरुपपुरुष ढकाल
अभिनेता स्वरुपपुरुष ढकालको प्रदर्शनका हिसाबले पहिलो सिनेमा बन्यो ‘छक्का पञ्जा २’ । हुन त उनले यो सिनेमाभन्दा अगाडि पनि सिनेमा ‘सुस्केरा’ मा काम गरेका थिए । तर, उनको यो सिनेमा कामका हिसाबले पहिलो बन्यो ।
प्रदर्शनमा भने अझै आएको छैन । ‘छक्का पञ्जा २’ कारोबारमा सफल रह्यो । तर, सिनेमाका कलाकार स्वरुपपुरुष ढकाल भने त्यति धेरै चर्चामा आएनन् ।
सुप्रिया कटुवाल
दजनौँ म्युजिक भिडियोमा काम गरिसकेपछि अभिनेत्री सुप्रिया कटुवालले साम्तेन भुटियाको निर्देशन रहेको सिनेमा ‘साँढे सात’ मार्फत डेब्यू गरिन् । उनलाई डेब्यू खासै फापेन ।
निर्माण पक्षले फरक धारको सिनेमा बनाएको भन्दै प्रचार–पसार गरे पनि हलमा गएर दर्शकले यो सिनेमाबाट खासै मनोरन्जन लिन सकेनन् । सिनेमाको असफलताकै कारण सुप्रियाको डेब्यू पनि ओझेलमा पर्यो ।
सन्नी सिंह
सन्नी सिंहले अभिनेत्री छुल्ठिम गुरुङको पहिलो निर्माण रहेको सिनेमा ‘डायरी’ मार्फत अभिनयमा डेब्यू गरे । सन्नीले आफ्नो शारीरिक बनावटबाट जति तारिफ र चर्चा पाए अभिनयबाट भने खासै तारिफ बटुल्न सकेनन् । इन्जिनियरिङका विद्यार्थी सन्नी ‘डायरी’पछि कुनै पनि सिनेमामा अनुबन्धित भएको खबर बाहिरिएको छैन ।
राज कटुवाल
अभिनेता राज कटुवालले पनि यही वर्ष सिनेमामा डेब्यू गरे । सिनेमा ‘लाल्टिन’ मार्फत उनको सिने यात्राको सुरुवात भयो । ‘लाल्टिन’ कारोबारमा खासै सफल हुन सकेन । राजले अभिनय गरेको अर्को सिनेमा ‘लिला’ पनि यसै वर्ष प्रदर्शनमा आयो ।
दुर्भाग्य यो सिनेमा पनि असफल रह्यो । दुईवटा सिनेमामा अभिनय गरेका राजको अभिनयको तारिफ पनि खासै सुन्न पाइएन ।
निर्जन थापा
यसै वर्षको जेठ २६ गते प्रदर्शनमा आएको सिनेमा ‘लाल्टिन’ बाट अर्का अभिनेता निर्जन थापाको पनि डेब्यू भयो । तर, उनका लागि यो डेब्यू खासै फापेन ।
सिनेमामा दयाहाङ र प्रियंका कार्कीको जोडी भएका कारण सिनेमा चल्ने आशा सिनेमाको टिमलाई थियो । तर, त्यसो भएन । जसका कारण निर्जनको डेब्यू पनि छायाँमा पर्यो ।
No comments:
Post a Comment