छोरा जन्माउने आशामा ३० बर्ष नपुग्दै ७ छोरी जन्मिए - Sital Chautari .com

ताजा अपडेट



Saturday, April 21, 2018

छोरा जन्माउने आशामा ३० बर्ष नपुग्दै ७ छोरी जन्मिए

चितवन  : 
चितवनको कालिका नगरपालिका-९ शक्तिखोरको हिसेटाँडी टोलकी ३० वर्षीय लैला चेपाङको सात सन्तान जन्मिए। त्यो पनि सबै छोरी।
 श्रीमान् र ससुराका लागि एउटा छोरा जन्माउनु उनका लागि दबाब थियो। छोराको आसै आशमा उनले सात छोरी जन्माइन्। तर, परिवारको सपना पूरा गर्न सकनिन्।
‘छोरा चाहिन्छ, भन्छ, ससुरा र श्रीमान्ले, त्यही भएर सात वटा छोरी भैसके,’ लैलाले भनिन्। अब उनलाई बच्चा जन्माउने चाहना छैन। उनले थपिन्, ‘परिवारले मानेकै छैनन्। छोरा चाहिन्छ भनिरहेकै छन्। गाउँलेले समेत श्रीमान्लाई हप्काउँदा केही कम भएपनि अझै छोराको आस हटेको छैन्।’
परिवारको छोरो चाहिने चाहना पूरा गर्न नसकेकोमा उनी दुखी छिन्। जसका कारण नचाहेरै उनले सात छोरी जन्माइन्।
त्यसैले अहिले उनलाई परिवारले थाहा नपाउने गरी लुकीलुकी परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दै छिन्। गाउँमा निमेक गरेर परिवार धान्दै आएकी लैलालाई एक दुई छोरी हुर्काउन त सकस भैरहेको बेला सातवटी छोरी भैसके। अझै छोराको आस गर्दा छोरी नहोला भन्न सकिन्न।‘विरामी छु भनेर लुकीलुकी डिपो (डिपो प्रोभेरा)लगाउँछु, २ वर्ष भो बच्चा भा छैन,’ लैलाले खुसी हुँदै भनिन्, ‘अब म त जन्माउँदिन।’अहिले उनकी जेठी छोरी करिना १४ वर्षकी भइन्। उनी कक्षा ६ मा चतुर्मुखी मावी शक्तिखोरमा पढ्छिन्। माईली सलिना, साईली सहनशिला, काईली रोजिता पनि सोही स्कुलमा पढ्छन्। रञ्जिता एलकेजीमा, रञ्जना शिशुमा पढ्ने गरेको र कान्छी सञ्जना भने सानै रहेको लैलाले बताइन्।छोरा भएन भनेर पहिलो दिनदिनै झगडा हुने गरेको भएपनि अहिले भने गाउँलेले सम्झाउँदा अलि कम भएको अनुभव छ लैलालाई।चतुर्मुखी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरी छोराको आसमा छोरी छोरी जन्माएकाले अहिले उनको एक छोरीलाई गृहमन्त्री रामबहादुर थापा, बादलले अभिभावकत्व ग्रहण गरेको बताए।केहीदिन अघि मात्रै चितवनको शक्तिखोरमा पुगेर गृहमन्त्री थापाले सहनशिलालाई काखमा लिंदै भर्ना गराएका थिए। त्यहीबेला उनसँग भएको भेटमा लैलाले दुखेसो पोख्दै भनिन्,‘एउटालाई गृहमन्त्रीले पढाइदिने भन्नु भा छ, अरुलाई कसरी पढाउने हो।’३३ धुर जग्गामा बस्ने यो परिवारको आर्थिक अवस्थासमेत कमजोर छ । अरु जमिन ऐलानी छ। श्रीमान् पनि मजदुरी नै गर्छन्। उनीहरु एउटा धेरै बच्चा जन्माउने उदाहरण भए पनि चेपाङ गाउँमा यस्ता पीडा धेरै छ।शिक्षा र चेतनाको कमिका कारण चितवनको विकट क्षेत्र चेपाङ गाउँमा अझै सानै उमेरमा विहे गर्ने र छोराछोरीहरु धेरै जन्माउने चलन छ। आर्थिक अभावका कारण बालबालिकाहरु स्कुल जानसमेत पाएका हुँदैनन्।

No comments: