पानी र जवानी खेर नजाओस .. मन्त्री विना मगरलार्इ एक युवकको सुझाव - Sital Chautari .com

ताजा अपडेट



Saturday, March 31, 2018

पानी र जवानी खेर नजाओस .. मन्त्री विना मगरलार्इ एक युवकको सुझाव



संविधान जारी भएपछि निर्वाचनको ताजा जनादेश अनुसार मुलुकमा नयाँ सरकार गठन भएको छ । लामो समयको समक्रमणकाल, राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता र अस्थिर सरकारबाट वाक्क बनेका जनताले स्थिर सरकार दिने एजेन्डा लिएर जनतासमक्ष गएका राजनीतिक दलहरुलाई चुनेर पठाएका छन् । यसबाट पनि प्रस्ट हुन्छ नेपाली जनताले स्थिर सरकार र आर्थिक समृद्धि चाहेका छन् 

जलस्रोतको हिसावले ब्राजिल पछिको विश्वकै दोस्रो धनी देश, विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बोकेको देश, बुद्धले शान्तिको नौलो बिहानी ल्याएको देश र वर्षेनी हजारौंको संख्यामा श्रम बजारमा युवाहरु आउँदा पनि यसको कुनै सदुपयोग र फाइदा निल नसक्ने देशको नाम हो नेपाल । हामीसँग भएको पानी र जवानी त्यसै खेर गइरहेको छ । यसलाई हामीले सदुपयोग गरेर देशलाई सम्पन्न बनाउने गरी कुनै योजना र कार्यक्रम ल्याउन सकेनौं ।

स्थिरता र समृद्धि लगायतका मुख्य कार्यदिशालाई जनताबाट अनुमोदन गराएर गठन भएको सरकारले अब आफ्नो एजेन्डा लागू गराउन केन्द्रित हुनुपर्छ । जनमतको बलियो धरातलमा उभिएर बनेको वर्तमान मन्त्रिमण्डलमा केहि परीक्षण भएका र केहि परीक्षण हुन बाँकी नै रहेका आशा लाग्दा अनुहारहरु समावेश भएका छन् । मन्त्रिपरिषदमा युवाहरुको राम्रै उपस्थिति देखिन्छ । गोकर्ण विष्ट, रबीन्द्र अधिकारी, बिना मगर जस्ता युवाहरुको उमेर, भावना र सम्भावना बोकेका व्यक्तिहरुकोप्रतिनिधित्व रहेकोसरकारबाटआमजनताले ठूलो आशा र अपेक्षा राखेका छन् । जुन स्वाभाविक पनि हो । अब यी व्यक्तिहरुको अग्निपरीक्षा सुरु भइसकेको छ ।
म्यानपावर व्यवसायीको मोलमोलाइमा होस् अथवा वैदेशिक विभागमा कार्यरत कर्मचारी र अध्यागमनका कर्मचारीको गोलमोलाइमा होस् रोजगारीको सिलसिलामा विदेसिने युवाहरु लुटिइरहेका छन् । भविष्यको खोजीमा खाडी मुलुकतिर हानिएका जवानहरुलाई दलालसँग मिलेर राज्यले अत्याचार गरिरहेको छ । यस्तो अन्याय र अत्याचारको अन्त्य गर्न आशालाग्दा अनुहारहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ । नागरिकको आशा विश्वासमा वा निराशामा परिणत हुन्छ त्यो त भविष्यले नै बताउनेछ ।

 हामीसँग भएको पानी बिना उपयोग समुन्द्रमा पुग्छ । हाम्रो जवानी बिना उपयोग मरुभूमिमा पसिना सरी बिलाउँछ । हामीले यसको उचित सदुपयोग गर्न नसक्दा देश भने पछाडि नै परिरहेको छ । राज्यको कुरा गर्ने हो भने मरुभूमिमा पसिना बगाउन जाने जवानीलाई दक्ष बनाएर पठाउनुको साटो उल्टै जुकाले जस्तो चुस्ने काममा मस्त र व्यस्त देखिन्छ।
सरकारले नेपाललाई समृद्धिको युगमा प्रवेश गराउने बताइसकेको छ । राजनीतिक स्थायीत्वमार्फत मात्र समृद्धि आउँछ भन्ने विषयलाई केन्द्रमा राखेर बनेको सरकारलाई संसदबाट विश्वासको मत लिँदा दुई तिहाइको समर्थन पाएको छ । संक्रमणकालको अन्त्यसँगै स्थायीत्व र समृद्धिको एजेन्डाको जगमा बनेको सरकारलाई आफ्नो एजेन्डा कार्यान्वयन नगरी कुनै पनि बहानामा पछि हट्ने छुट छैन । 

मेलम्चीलाई पानीको भन्दा गाडीको चिन्ताबाट मुक्त गरियोस्
मन्त्रालय गठनको हिसाबले खानेपानी तथा सरसफाइ मन्त्रालय अहिलेका मन्त्रालय मध्येको सबैभन्दा कान्छो मन्त्रालय हो । त्यो कान्छो मन्त्रालयको नेतृत्व मन्त्रीमण्डलको सबैभन्दा कान्छो सदस्यले गर्नुलाई संयोग नै मान्नुपर्छ ।

आर्थिक समृद्धि र युवा
समृद्ध राष्ट्र निर्माणका लागि आर्थिक विकास, रोजगारीको ग्यारेन्टी, पूर्वाधार क्षेत्रको विकास, सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणसहितको कानूनी राज्य स्थापना हुन जरुरी छ । राष्ट्र निर्माण र रुपान्तरणमा युवाहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । दुर्भाग्य भन्नुपर्छ । नेपालका युवाहरुले धेरै मुलुकको आर्थिक विकास र समृद्धिमा ठूलो योगदान दिएका छन् । तर ति युवाहरुलाई राज्यले कुनै भूमिका दिन सकेन । आर्थिक समृद्धिका लागि ति युवाहरुलाई स्वदेशमै योगदान दिने वातावरण सिर्जना गर्न सरकारले विशेष नीति अख्तियार गर्नुपर्छ ।
 समृद्धराष्ट्रनिर्माणमा युवाहरुको जोस्, जाँगर र जवाफदेहिता धेरै महत्त्वपूर्ण हुन्छ । वर्तमान क्याबिनेटमा प्रतिनिधित्व गर्ने केहि आशा लाग्दा अनुहारहरुको विषयमा उल्लेख भइसकेको छ । ४० नकाटेका मन्त्रीले उमेर समूहको हिसाबले पनि साँच्चै युवाहरुको प्रतिनिधित्व गर्छन् । त्योमध्ये खानेपानी मन्त्रीसँग धेरैले आशा र अपेक्षा गरेका छन् ।
राजनीतिक नेतृत्वले सुशासन, पारदर्शिता, इमानदारिता र जवाफदेहिता देखाउन सक्ने हैसियत राख्यो भने भ्रष्टाचार र ढिलासुस्तीले कुनै स्थान पाउँदैन । आर्थिक विकास र समृद्धिमा मुलुकले ठूलो फड्को मार्दछ । त्याग र समर्पण गर्न सक्ने हैसियत नभएको राजनीतिज्ञले समृद्धिको नेतृत्व गर्न सक्दैन । राजनीतिको मुहान सफा भयो भने अरु आफै सफा हुन्छ । सफा गर्न सकिन्छ । शासक र प्रशासक मिलेर मुलुकलाई लुट्न बन्द गर्ने हो भने आर्थिक विकास र समृद्धिमा देशले राहत पाउँछ ।



No comments: