अपहरण शैलीमा थुनिए सुवास गिरि ,गीत चोरे बापत ‘कृ’ निर्माताले तिरे ११ लाख, - Sital Chautari .com

ताजा अपडेट



Thursday, March 29, 2018

अपहरण शैलीमा थुनिए सुवास गिरि ,गीत चोरे बापत ‘कृ’ निर्माताले तिरे ११ लाख,

फिल्म ‘कृ’ मा समाबेश ‘उकालिमा अघिअघि’ गीत चोरी काण्डले यतिबेला निकै उग्र रुप लिएको छ । फिल्मका निर्माता सुबास गिरि यहि कारण १ रात हिरासतमा बस्न समेत बाध्य भए । उक्त गीत झन्डै ३५ बर्ष पहिले शम्भु प्रधानले निर्माण तथा निर्देशन गरेको फिल्म ‘सम्झना’ मा समाबेश गरिएको थियो । गिरिले हिरासतको अनुभव मात्र लिएनन् ११ लाख जरिवाना समेत तिर्न बाध्य भए ।
सुवास संग भुवन केसीले संयुक्त निर्माण गरेको चलचित्र ‘कृ’ को यो गीतमा उनै भुवनका छोरा अनमोलले अभिनय गरेका छन् । फिल्म सम्झनामा समाबेश गीतमा भने नायक भुवन केसिले अभिनय गरेका थिए । यो गीत सार्बजनिक भएदेखि नै चोरिको आरोपमा मुछिएको थियो । अन्ततः गत मंगलबार बेलुका कृ निर्माता सुवास गिरीलाई प्रहरीले हिरासतमा लिए । बुधबार मात्रै हिरासत मुक्त भएका निर्माता गिरीले आफूमाथी अन्याय भएको बताएका छन् ।
बुधबार आफ्नो फेसबुक पेज मार्फत आफूलाई अपहरणको शैलीमा हिरासतमा राखिएको बताएका गिरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आफूमाथि अन्याय भएको बताएका हुन् । बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै निर्माता गिरीले निर्देशक प्रधानलेनै आफूलाई नियतिबस फसाएको दाबी गरे । निर्माता गिरीले आईजीपीकै ठाडो आदेशमा आफूलाई हिरासतमा राखिएको प्रष्ट पारे ।
उनले भने, ‘मैले के अपराध गरेको थिए ? छलफलका लागि प्रहरी परिसर पुगेको मान्छेलाई किन अपराधी जस्तै हत्कडी लगाएर अपहरणको शैलीमा अरु अपराधी जस्तै जेलमा राखियो ?’ उनले शम्भु प्रधान जस्तो बरिष्ठ चलचित्रकर्मीले प्रहरी भित्रका केही मान्छे चिनेको भरमा आफूमाथि अन्याय गरेको बताए । निर्माता गिरीले आफूले संगीतकार अल्मोडा राणा उप्रेतीलाई ५ लाख तिरेर उक्त गीत चलचित्रमा राखेकाले आफू कसरी दोषी भैयो भनेर नबुझेको बताए । उनले आफू दोषी छैन भनेर भाग्न नखोजेको तर, संगीतकारलाई पनि कारबाही हुनुपर्नेमा किन आफूलाई मात्रै हिरासतमा राखियो भनेर प्रश्न समेत गरे ।

पटक पटक आफूले संगीतकार अल्मोडालाई फोन गर्दा सम्पर्क हुन नसकेको निर्माता गिरीको भनाई छ । प्रहरीको ठाडो हस्तक्षेप र यति ठुलो अपमान गर्नुको साँटो निर्देशक प्रधानले ११ लाख रुपैयाँ मागेको भए आफूले एक शब्द नबोलेर दिन तयार रहेको समेत जानकारी गराए । ‘कृ’ को मुनाफाको ५० प्रतिशत शेयर, गीत फिल्मबाट हटाइनु पर्ने र माफी माग्नु पर्ने शर्त राखेपछि आफूपनि कानुनी प्रक्रिया कसरी अगाडी बढाउने छलफलमा लागिरहेका बेला निर्देशक प्रधानले नियतबस आफूलाई फसाउन लागेको निर्माता गिरीले प्रष्ट पारे । पत्रकार सम्मेलनमा बोल्दै गिरीले प्रहरी कार्यलय भित्र भएको लेनदेनका बारेमा समेत आश्चर्य व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता गिरीले प्रहरी प्रशासन र निर्देशक प्रधानविरुद्ध कानुनी रुपमा मुद्धा लड्ने समेत उदघोष् गरे । उनले भने, ‘म यतिबेला अधिवक्ताहरुसँग निरन्तर छलफलमा छु, यदी मिलेको खण्डमा म कानुनी रुपमा अगाडि बढ्छु ।’ उनले जीवनमा पहिलो पटक थुना र हातमा हतकडी लगाइएकाले आफूलाई सबैभन्दा धेरै पीडा भएको बताए । निर्माता गिरीले आफूलाई प्रहरी र निर्देशक प्रधानले निकै जर्बजस्ती गरेपछि ११ लाख दिन बाध्य भएको समेत खुलासा गरे ।
उनले भने, ‘प्रहरी कार्यालय भित्रमा न लेनदेन हुन्छ न त मोलमोलाई । तर मलाई जर्बजस्ती रुपमा प्रहरी परिसरमै गलत ब्यवहार गरियो ।’ जेलभित्रको गतिविधि स्मरण गर्दै निर्माता गिरीले भने, यति पैसा भए मात्र मुद्धा फिर्ता लिन्छु भन्दै शम्भु प्रधान जंगिनु भयो । मैले आत्मसम्मानका लागि ११ लाख दिन राजी भएँ ।’ गिरिले ११ लाख दिन राजी भए पश्चात् बारम्बार फिल्म सम्झना दर्ता भएको कागज र प्रमाण देखाउन भन्दा प्रधान नदेखाएको पनि बताए ।
तर, उहाँले त सुरुमा २१ लाख मागिरहनु भएको थियो । ‘निकै दुःखी हुदै निर्माता गिरीले आफूले कुनै गलत क्रियाकलाप नगरेकाले अब अन्याय सहेर नबस्ने समेत प्रष्ट बताए । भुवन पनि फिल्मको निर्माता हुन तर प्रधानले आफू पैसावाला मान्छे भएको भएर आफ्नो मात्र पछि लागेको बताए । गिरिले फिल्म सम्झना नेपालमा दर्ता नभएको दाबी गरे भने यता कृ का अर्का निर्माता भुवन केसिले आफुले सोच्दै नसोचेको कुरा प्रधानले गरेको पत्रकार सम्मेलनमा सुनाए । भुवनले यहि करणले सम्भु प्रधान आफ्नो नजरबाट गिरे भन्दै दुखेसो गरे ।
गिरीले जेलमा न आफूसँग पैसा र चेक दुबै चिज नभएको भन्दै अफिस पुगेर चेक पनि कम्पनीकै नामा काटिदिन्छु भन्दा निर्देशक प्रधानले नमानेको बताए । उनले भने, ‘आफ्नो नाममा चेक नकाटे जाहेरी फिर्ता नदिने भन्दै निर्देशक प्रधान हिँड्नुभयो । गिरीले प्रश्न गरे, यसबाट के बुझ्ने ? उहाँको नियत ठिक थियो त ? उनले आफ्नो आत्मसम्मानले ११ लाखका लागि २४ दिन विना कुनै अपराध जेलमा बस्न उपयुक्त नदेखेकाले ११ लाख दिएको जानकारी गराए । यद्यपि, निर्देशक प्रधानले ‘सम्झना’ फिल्म निर्माण भएको कम्पनीको नामबाट आफूलाई उजुरी दिएको गिरीले जानकारी गराए ।

No comments: