केही समययता उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न भइरहेका घटनाले चिकित्सकहरूलाई असुरक्षित महशुस गरेको बताइरहेका छन् । यस्ता घटनाले बिरामी र चिकित्सकबीचको विश्वासको दुरी पनि बढाइरहेको छ । तर, समाजमा केही यस्ता डाक्टर पनि छन्, जसले मुलुकको चिकित्सा सेवामा नयाँ आयाम थपेर आफ्नो नाम विश्वस्तरमा पु¥याएका छन् ।
ज्योति छर्दै रुइत
स्वास्थ्य सेवा निकै महङ्गो बन्दै गइरहेको छ । हुनेखानेले यो सेवा सजिलै लिन पाए पनि गरिबका लागि सहज र सस्तो उपचार सेवा मुस्किल भइरहेको छ । स्वास्थ्य सेवामा राज्यको उपस्थिति कमजोर बनेका कारण गुणस्तरीय उपचार पाउन पैसा बाधक बनिरहेको छ ।
यस्तो अवस्थामा उपचार खर्च नै कम पर्ने गरि मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाएको छ । र, यस्तो प्रविधि विकास गर्ने डाक्टर हुन्, ताप्लेजुङका ६२ वर्षीय डा. सन्दुक रुइत । सन् १९८० मा नेत्र रोग विशेषज्ञ रुइतले कन्ट्रयाक आई सर्जरी गर्दा लाग्ने खर्च ९० प्रतिशत घटाउने प्रविधि विकास गरेका थिए ।
उनले विकास गरेको यही कम मुल्यको कन्ट्रयाक सर्जरी लेन्स ९० भन्दा बढी मुलुकमा निर्यात भइरहेको छ । पछिल्लो ३० वर्षको अवधिमा उनले विकास गरेको यो प्रविधिका कारण एसिया र अफ्रिकाका एक लाख भन्दा बढी मानिसले आँखाको दृष्टि पाएका छन् । डा. रुइते नेपालका कुना कन्दरामा पुगेर उपचार गर्दा खर्च तिर्न नसक्नेहरूलाई निःशुल्क उपचार समेत गरिरहेका छन् ।
आँखा उपचारको क्षेत्रमा कमाएको यही प्रशिद्धिका कारण भारत सरकारले रुइतलाई ११ माघमा पद्य्मश्री अवार्ड दिने घोषणा ग¥यो । यसपछि त उनको नाम सर्वत्र चर्चाको विषय बन्यो । कम शुल्कको कन्ट्रयाक सर्जरीमार्फत एक लाख जनालाई दृष्टि दिएको भन्दै उनलाई भारत सरकारले सम्मान गरेको हो ।
एम्स अस्पताल भारतबाट एमबीबीएस गरेका रुइत अहिले तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । रुइत एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मानित भइसकेका छन् ।
मुटु प्रत्यारोपणमा अब्बल धिताल
ज्यूँदो मानिसमा मुटु प्रत्यारोपणको विषय त सुनिएकै हो । तर संसारमा नसुनिएको मृत व्यक्तिको मुटु प्रत्यारोपण गरेर बिरामी बचाउने पहिलो सर्जन हुन्, गोरखाका डा. कुमुद धिताल । अस्टे«लियामा कार्यरत धितालले चार वर्षअघि सिड्नीको सेन्ट भिसेन्ट्स अस्पतालमा तीन जना बिरामीमा मृत व्यक्तिको मुटु प्रत्यारोपण गराएपछि उनको नाम विश्वभर फैलियो ।
यसअघि मस्तिष्कको मृत्यु भइसकेका तर मुटु लगायतका अंग चलिरहेका व्यक्तिको मुटु झिकेर विशेष यन्त्रमा राखी अर्को व्यक्तिमा प्रत्यारोपण हुँदै आएको थियो । तर, धितालले यो भन्दा फकर मृत शरीरबाटै बन्द भइसकेको मुटु निकालेर विशेष यन्त्रमार्फत सक्रिय पारि अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेका थिए ।
उनको यो सफलतापछि एउटै व्यक्तिका धेरै अंगको प्रत्यारोपण गरेर अंगदान गर्ने परोपकारी चाहना पूरा गराउन थप सघाउ पुग्यो । यसरी विश्व हल्लाउने गरि चिकित्सा विज्ञानमा उनले हासिल गरेको प्रगतिको प्रेरणाको स्रोत को होला ? उनले यस्तो काम गर्नमा सबैभन्दा बढी पे्ररणा उनका स्व. बुबा विष्णुप्रसाद धितालबाट पाएको बताउँछन् ।
बाबुले सपना देख्न र त्यसलाई प्राप्त गर्न कडा मेहनत गर्नुपर्ने भनाइले उनलाई प्रेरित ग¥यो । अन्त्यमा उनले सफलता हात पारेरै छाडे । धितालसँग नौ वर्षसम्म डोनेसन आफ्टर सर्कुलेटरी डेथ हार्ट ट्रान्सप्लान्टमा काम गरेको अनुभव छ । भिक्टर च्याङ रिसर्च इन्ष्टिच्यूटका फ्याक्लटी मेम्बर समेत रहेका डा. धिताल सेन्ट भिसेन्ट अस्पतालमा कार्यरत छन् ।
न्यूरोमा एसिया चर्चित
बाबु होमनाथ कविराजले गरेको सेवाबाट प्रभावित भएर उनलाई पनि बिरामी जाँच्ने रहर जाग्यो । त्यो रहरलाई पुरा गर्न उनले गोरखाको अमरज्योति माविबाट कठिन परिश्रमको साथ विद्यालय तहको पढाई पुरा गरे । उनी विद्यालयदेखि क्याम्पसस्तरसम्मै अब्बल रहे । यद्यपि, पाठ्यक्रमभन्दा बाहिरको विषयमा उनको बढ्ता ध्यान जान्थ्यो ।
अमृत साईन्स क्याम्पसबाट आईएस्सी पुरा गरेपछि उनलाई मेडिसिन पढ्ने बाटो खुल्यो र, अन्ततः उनी एमबीबीएस तहको पढाई सकेर डाक्टर बने । बासबारीस्थित न्यूरो अस्पतालमा न्यूरोसर्जनका रुपमा कार्यरत उनी हुन्, वरिष्ठ न्यूरोलोजिष्ट डा. उपेन्द्र देवकोटा । ३० वर्षे करियरमा उनले १८ हजार व्यक्तिको शल्यक्रिया गरिसकेका छन् ।
त्यसैले न्यूरोसर्जरीमा देवकोटाको नाम एसियाभर परिचित छ । चिकित्सक मात्र नभएर उनी सात महिनासम्म स्वास्थ्यमन्त्री पनि बने । उनको नेतृत्वमा मुलुकको पहिलो जेठो अस्पताल वीरमा सन् १९८९ मा न्यूरोसर्जरी विभाग बन्यो । यसैक्रममा उनले वीर अस्पतालमा निरन्तर २२ घण्टासम्म न्यूरो सर्जरी गरेको उदाहरणहरू छन् ।
वीरमा न्यूरो विभाग स्थापना गरेको १० वर्षपछि उनको सहकार्यमा नेपालमा सार्क क्षेत्रको न्यूरो सर्जिकल कन्फरेन्स आयोजना भयो । यही सम्मेलनमार्फत डा. देवकोटाले नेपालमा न्यूरोसर्जरीको क्षेत्रमा भएका काम बारे कार्यपत्र प्रस्तुत गरे । यसपछि डा. देवकोटाले न्यूरोसर्जरीमा पु¥याएको योगदान बारे विश्वले थाहा पायो । उनी स्वास्थ्यमन्त्री भएकै बेला अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ल्याए ।
क्यान्सर उपचारमा संसारले चिन्ने ज्ञवाली
क्यान्सर रोग उपचारमा पु¥याएको योगदानका कारण विश्वभर चिनिएका पछिल्लो पुस्ताका डाक्टर हुन्, रुपन्देहीका ३० वर्षीय डा. विशाल ज्ञवाली । उनी मेडिकल अंकोलोजीमा कम उमेरमा पिचएडी गर्ने डाक्टर पनि हुन् । सोही कारण उनलाई संसारले कम उमेरमा क्यान्सर रोगको अनुसन्धान गर्ने व्यक्तिका रुपमा चिन्छ । उनले जापानको नागोया युनिभर्सिटीबाट मेडिकल अंकोलोजीमा पिचएडी गरेका हुन् ।
२०५९ सालमा बुटवलको न्यू होराईजन स्कुलबाट उनी एसएलसीमा बोर्ड फस्ट थिए । मेडिसिन विषय पढ्नु अघि उनले काठमाडौंको ह्वाईट हाउस कलेजबाट विज्ञान विषयमा प्लस् टुको अध्ययन पुरा गरे । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति पाएका थिए । सन् २०१२ मा ज्ञवालीले जापानमा अंकोलोजी विषय अध्ययन गर्न छात्रवृत्ति पाएका थिए ।
सन् २०१७ मा नायोगा युनिभर्सिटीबाट पिएचडी तह पुरा गरे । त्यसो त उनले नायोगामा अध्ययनका क्रममा ५० भन्दा बढी विभिन्न अनुसन्धानमुलक रिपोर्ट प्रकाशित गरिसकेका छन् । यसपछि उनी सबैतिर चिनिए । उनी हाल बेलायतबाट प्रकाशित हुने ब्रिटिस मेडिकल जर्नलका सल्लाहकार सम्पादक छन् ।
-(हाम्रो डक्टर म्यागेजिनबाट)
No comments:
Post a Comment