
काठमाडौं । सत्ताधारी दल एमाले र माओवादी केन्द्रको रस्साकस्सीबीच नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षकमा नियुक्त सर्वेन्द्र खनाल संगठनका सदस्यलाई निर्देशन दिन व्यस्त छन् अहिले । २८ वर्षे प्रहरी सेवामा ‘दबंग प्रहरी’ को छवि बनाएका उनको कार्यकालको प्रारम्भ डिआइजी रमेश खरेलको राजीनामासँगै भयो । खरेलको राजीनामा सामान्य भने पनि उनले दुखेको चित्त भने लुकाउन सकेनन् शुक्रवारसँग । सत्ताधारी दलका नेताको आकांक्षा, प्रहरी संगठनको सुदृढीकरण र संघीय संरचनाको कार्यान्वयनको जोखिम बोकेर आइजिपीको कुर्सीमा पुगेका उनको आइजिपीको एक साताको अनुभव, लक्ष्य र योजनाबारे शुक्रवारकर्मी केपी ढुंगानाले गरेको अन्तरंग कुराकानी ।
प्रहरी महानिरीक्षक छान्न मन्त्रिपरिषद्को बैठक बसिरहँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
म आफ्नै कार्यालय (महानगरीय ट्राफिक प्रहरी महाशाखा) मा नियमित काममै थिएँ ।
मोबाइल त साह्रै व्यस्त थियो नि ?
अँ मोबाइल व्यस्तै थियो ।
फोन आइरहेकाले व्यस्त गराइरहेको थियो कि गइरहेकाले ?
(हल्का हाँस्दै) त्यो दिन आइरहेको कलले नै व्यस्त हो ।
कत्तिको तनाव हुँदोरहेछ ?
त्यत्ति धेरै तनाव हुँदोरहेनछ ।
पक्कापक्की नै थियो र ?
पक्कापक्की भन्दा पनि सरकारले गर्ने निर्णयमा म धेरै आशावादी थिएँ । सरकारबाट जे निर्णय आउँछ, त्यो स्वीकार्ने मनस्थितिमा भएकाले तनाव लिनुपर्ने केही थिएन ।
भनेपछि प्रहरी नेतृत्व छान्न प्रधानमन्त्री र गृहमन्त्री तनावमा थिए, तपाईं भने ढुक्क ?
उहाँहरुलाई तनाव भयो भएन, त्यो मैले थाहा पाउने विषय भएन । मैले भन्न सक्ने मेरो हकमा मात्रै हो । म वास्तवमै तनावमा थिइनँ ।
मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षकमा तपाईंलाई नियुक्त गरेको पहिलो सूचना कसले दियो ?
सन्देश त… (उनी केही समय अड्किए ।)
तपाईं नै हो, तपाईंको विकल्प छैन भन्ने खालका आश्वासन त आइरह्यो नै होला । सामान्य रुपमा यस्तो फोन कल आउँछन् नै । सरकारले निर्णय गर्यो भनेर औपचारिक जानकारी कसले दियो भन्न खोजेको नि ?
आधिकारिक रुपमा सरकारी प्रवक्ता सञ्चार राज्यमन्त्रीबाट आएको हो । त्यसभन्दा अगाडि तपाईंको राम्रो छ, सरकारले निर्णय गर्दैछ भन्ने त पहिल्यै आएको थियो ।
कसले त्यस्तो जानकारी दियो, भन्न मिल्छ ?
नाम त बिर्सिएँ अहिले ।
नियमित काम गरेर बसेको थिएँ । त्यस्तो प्रेसर बढेको थिएन भन्नु भए पनि आफ्नो वृत्ति विकासबारे निर्णय हुँदै गर्दा प्रेसर हुनु मानवीय स्वभावै हो । सरकारले निर्णय गर्यो भन्ने सुनेपछि कत्तिको रिल्याक्स अनुभव भयो ?
प्रेसर अलिअलि त थियो । भइहाले हुन्थ्यो भन्ने त मनमा थियो नै । सुनेपछि निक्कै हल्का फिल भयो । एक किसिमको आनन्द आयो । खुसी लाग्यो ।
दौडमा प्रतिस्पर्धा भइरहेको बेला पहिला रिबन क्रस गर्ने धावकको मुहारमा झल्किने खुसी र चमकजस्तै भाव तपाईंको मुहारमा पनि आयो नै होला । कि हैन ?
त्यस्तो नै त हैन । कोही दौडिने व्यक्ति भ्याइन्छ कि भनेर पनि दौडिरहेका हुन्छन् नि ! हामीमा त हुनुपर्छ, हुन्छौं भन्ने आत्मबल हुनुपर्छ । भयो ठीक भो भन्ने दिमागमा आयो ।
गृह सचिवले फुली लगाइदिँदा तपाईंको मुहारको चमक भिन्न खालको थियो । धपक्कै बलेको देखियो तस्बिरमा । डिआइजीको फुली झिकेर आइजिपीको फुली लगाइदिँदै गर्दा मनमा के–के कुरा खेल्ने रहेछन् ?
कस्तो देखियो, त्यो त हेराइको कुरा होला । मलाई त मेरो अनुहार सामान्य नै लाग्यो । प्रहरी निरीक्षकको रुपमा प्रवेश गरेको संगठनको नेतृत्वको अवसर पाउँदा गर्व महसुस त हुने नै भयो । सँगै जिम्मेवारीबोध पनि अनुभव भइरहेको थियो । अनुहारको भाव त्यही जिम्मेवारीबोधको संकेत होला ।
२८ वर्षे यात्राको दौरानमा प्रहरी निरीक्षकबाट प्रहरी महानिरीक्षकसम्म हुँदा धेरै पदको दज्र्यानीचिह्न पाइसक्नुभयो । दज्र्यानी चिह्न लगाउँदा धेरैको रमाइलो क्षण चैँ पहिलो नै हुने अनुभव सुनिन्छ । तपाईंको हकमा इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाउँदाको क्षण रमाइलो कि आइजिपीको ?
यी दुवै क्षणका आ–आफ्नै विशिष्टता हुन्छन् । तालिम सकिएपछि इन्स्पेक्टरको दज्र्यानी चिह्न अभिभावकले लगाइदिने प्रचलन थियो । मेरो दाइले लगाइदिनु भएको थियो । काँधमा फुली चढेपछि अब लोत पर्ने गरी तालिम गर्ने दिन गए, हप्काउने गुरुबाले पनि सलाम गर्ने दिन आएजस्तो उन्मुक्त अनुभव भएको थियो । त्यो उमेरअनुसारको सोच पनि थियो होला । अहिले आइजिपीको फुली लगाउँदा जिम्मेवारीबोध बढी भयो । आफूले पूरा गर्नेपर्ने जिम्मेवारी नै दिमागमा घुम्ने रहेछ त्यस्तो बेलामा ।
डिआइजीसम्म हुनुभएकै हो । आइजिपी भइसकेपछि माहोल कति बदलिने रहेछ ? एक साताको अनुभव कस्तो रह्यो ?
विल्कुल भिन्न हुनेरहेछ । निर्णय गर्नुपर्ने जिम्मेवारी पद भएकाले कामको प्रकृति र चाप छुट्टै हुने नै भयो । सरकारसँग समन्वय गरेर जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत हुनुप¥यो । हाम्रो जस्तो संरचनामा रहेर काम गर्दा कमान्डरको भूमिका अहं नै हुन्छ
No comments:
Post a Comment