गुल्मी,
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताउनुभएको छ ।
विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उहाँले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताउनुभयो ।
“हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ” मन्त्री विष्टले भन्नुभयो, “जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ ।” सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।
विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताउनुभयो । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उहाँले भन्नुभयो, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उहाँले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताउनुभयो ।
‘अब युवाले अरबमा भेडा चराउनु पर्दैन’
उहाँले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताउनुभएको छ । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उहाँले भन्नुभयो, “गाउँमै हजाराँै रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।”
मन्त्री विष्टले गुल्मीका दर्जनाँै सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताउनुभयो ।
छोटो समयमै एकता हुन्छ
नेकपा (एमाले) केन्द्रीय सचिवसमेत रहनुभएका मन्त्री विष्टले दुई ठूला वाम पार्टीबीच छिट्टै नै पार्टी एकता हुने बताउनुभयो । “पार्टी एकताको विषयमा कुनै आशंका र निराशा व्यक्त गर्नुपर्ने आवश्यकता छैन” मन्त्री विष्टले भन्नुभयो, “जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेका कारणले केही ढिला मात्र भएको हो ।”
मन्त्री विष्टले बुधबार नै मुसिकोट नपा–७ वामीटक्सारमा लुम्बिनी वामी हस्पिटलको पनि उद्घाटन गर्नुभएको थियो ।
वचनबाट पछाडि हट्ने छैनाँै
मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताउनुभयो । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उहाँले भन्नुभयो, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”
“हामी राजनीतिक रुपमा फरक हुन सकौँला त्यो ठूलो कुरा होइन” उहाँले भन्नुभयो, “ठूलो कुरा त गाउँका जनताको जीवन माथि उठाउनु हो ।” जनताले दिएको विश्वास डगमगाउन नपाउने गरी काम गर्नेमा उहाँले विश्वस्त पार्नुभयो ।
जनताका काम शिरमा राख्नुस्, पार्टी बिर्सनुस्
मन्त्री विष्टले पाँच वर्षपछि पनि जनताको मनमा रहने गरी काम गर्न गुल्मेली जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधिको कामले गति नलिएकोप्रति गुनासो गर्दै विष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । “स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ” उहाँले भन्नुभयो, दुवै पक्षको समन्वय र सामूहिक प्रयत्नमा काम अगाडि बढाउनुस् ।”
विष्टले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने दुनियाँका सीमित संविधानमध्ये नेपाली संविधान पनि पर्ने बताउनुभयो ।
No comments:
Post a Comment