मीठो गीत नगाए पनि भँगेरा गीत गाउने चराअन्तर्गत पर्छ । घर छेउछाउ देखिने धेरैजसो चराले गीत गाउँछन् । संसारभरि पाइने भँगेरालाई किसानका साथीसमेत भन्ने गरिन्छ । भँगेराले कीरा, फट्याङ्ग्रा साथै गहुँ, कोदो, धान, मकैलगायत अन्न खान्छन् । ‘उसले वयस्कमा अन्न खान्छ । तर, हुर्कंदै गरेका बच्चालाई भने कीराफट्याङग्रा खुवाउँछ,’ चराविद् डा. हेमसागर बरालले सुनाए, ‘भँगेराले आफ्ना बच्चालाई रौं नभएको झुसिलकीरा खुवाउँछ । त्यतिमात्रै होइन, उसले बालीनालीलाई हानि पुर्याउने कीराफट्याङ्ग्रालगायत लाइ खाइदिन्छ । अन्नबाली सखाप पार्ने कीराफट्याङ्ग्रा खाइदिएपछि किसानलाई सहयोग पुग्ने नै भयो ।’
नेपालमा हिमाल, पहाडदेखि तराईसम्म भँगेरा पाइन्छन् । घर भँगेरा तराईदेखि मध्यपहाडसम्म पाइन्छन् । रूख भँगेरा तराईमा कम तर मध्यपहाडमा बाक्लै देखिन्छन् । काठमाडौंमा घर भँगेरा र रूख भँगेरा बराबरजस्तो देखिन्छन् । ‘तर, रूखभन्दा घर भँगेरा अलि बढी पाइन्छन् । घर भँगेराको तुलनामा रूख भँगेरा अलि सानो हुन्छ,’ चराविद् बरालले भने, ‘घर भँगेराको भालेपोथी प्रस्टै छुट्टिन्छ । रूख भँगेरा हेर्नसाथ भालेपोथी छुट्ट्याउन सकिँदैन ।’
पेट्रोनिया (पितकण्ठे) लाई समेत मान्ने हो भने नेपालमा पाँच प्रजातिका भँगेरा पाइन्छन् । नेपालमा घर भँगेरा (हाउस स्प्यारो), रूख भँगेरा (ट्री स्प्यारो), कैलो भँगेरा (रस्सेट स्प्यारो), स्प्यानिस स्प्यारो र पितकण्ठे (पेट्रोनिया) पाइन्छन् । संसारभरि ३२ प्रजातिका भँगेरा पाइन्छन् । मिहिनेती र मायालु भँगेरा मानिसभन्दा मिहिनेती हुन्छन् । घर भँगेरा १५ र रूख भँगेरा १४ सेन्टिमिटरका हुन्छन् । चार÷पाँच वर्षसम्म बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ ।
No comments:
Post a Comment