संस्मरण: त्यो रात राजा ज्ञानेन्द्रको छटपटी - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 5, 2018

संस्मरण: त्यो रात राजा ज्ञानेन्द्रको छटपटी


हाम्रो असहमतिको जानकारी हुँदाहुँदै पनि राजाले ०६३ साल वैशाख ८ गते वक्तव्य निकाले । वक्तव्यमा ‘आन्दोलनकारी पार्टीहरूले प्रधानमन्त्रीको नाम दिएमा उसैलाई प्रधानमन्त्री बनाएर जनताको नासो जनतालाई नै सुम्पने’ भन्ने आशय थियो । हामीले राजाको वक्तव्यलाई मान्यता दिएनौं । त्यो त्यसै फिस्स हरायो ।
वैशाख ९ गते आन्दोलनले झन् चर्को रूप लियो । राजधानीको चक्रपथमा लाखौंलाख जनता भरिए । राजा वार्ताको लागि अरू उपाय खोजिरहेका थिए । उनमा छटपटी बढिरहेको थियो । आन्दोलनको ज्वाला झनै दन्किरहेको थियो । गिरिजाबाबु र माधव नेपाल वार्तामा संलग्न हुनुहन्थ्यो जस्तो लाग्छ । म संलग्न नभएकाले यस विषयमा मलाई केही जानकारी भएन । म त पार्टीको जिम्मेवारी अनुसार आन्दोलनमा लागिरहेको थिएँ ।
वैशाख ११ गते साँझ म कलंकीस्थित आफ्नै डेरामा बसिरहेको थिएँ । महासचिव माधव नेपालको फोन आयो । ‘तपाईं आज कतै नजानुस् है, म राति तपाईं कहाँ बस्ने गरी आउँछु’, उहाँले भन्नुभयो ।
महासचिव नेपाल साँझ साढे सात बजेतिर मेरो डेरामा आइपुग्नुभयो । हामी दुईजना खाना खाएर कुरा गरिरहेका थियौं । साढे ८ बजेतिर फोनको घन्टी बज्यो । मैले फोन उठाएँ । उताबाट ‘महासचिव माधव नेपाललाई खोजेको’ भन्ने आवाज आयो । दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनले फोन गर्नुभएको रहेछ । मैले माधव कमरेडलाई फोन दिएँ ।
फोनमा महर्जनले ‘अहिल्यै भेटेर कुरा गर्नुपर्‍यो’ भन्नुभएछ । माधव कमरेड मानिरहनुभएको थिएन ।
‘यहाँ गाडी पनि छैन । रातको ९ पनि बजिसक्यो । भोलि बिहान बसेर कुरा गरौंला’, माधव कमरेड भनिरहनुभएको थियो । ‘होइन, होइन आजै राति बसेर सल्लाह गरौं’, महर्जन आग्रह गरिरहनुभएको थियो ।
‘कहाँ बस्ने त ?’, निकै आग्रह गरेपछि माधव कमरेडले सोध्नुभयो ।
‘गिरिजाबाबुको घर महाराजगञ्जमा बसौं’, पशुपतिजीले भन्नुभएछ ।
‘गिरिजाबाबुसँग कुरा भएको छ त ?’, माधव कमरेडले सोध्नुभयो ।
‘भइसक्यो, उहाँले हुन्छ, आउनुहोस् भन्नुभएकाले मैले तपाईंसँग कुरा गरेको हुँ’, पशुपतिजीले भन्नुभएछ ।
माधव कमरेडले फोन राख्नुभयो ।
‘तपाईं पनि हिँड्नुपर्छ, ल जाऔं’, उहाँले भन्नुभयो ।
साढे ९ बजे हामी दुईजना मेरो डेराबाट निस्कियौं । कोठाबाट बाहिरिँदै गर्दा अमृत बोहोरालाई पनि सँगै लिएर जाने सल्लाह भयो । अमृत कमरेडलाई लिएर महाराजगञ्ज पुग्दा १० बजिसकेको थियो ।
गिरिजाबाबुकहाँ नोना कोइराला, दीलेन्द्र बडु, महेश आचार्यलगायतका कांगे्रसका नेताहरू हुनुहुन्थ्यो । हाम्रो पार्टीबाट हामी तीनजना थियौं । दरबारबाट मुख्यसचिव पशुपतिभक्तजी मात्र हुनुहुन्थ्यो । हामी सबैजना राउन्ड लगाएर बसेका थियौं ।
‘म एउटा ड्राफ्ट टक्र्याऊँ ?’, पशुपतिजीले गिरिजाबाबुसँग अनुमति माग्नुभयो ।
‘हुन्छ’, गिरिजाबाबुले भन्नुभयो ।
पशुपतीजीले एउटा ड्राफ्ट गिरिजाबाबुलाई दिनुभयो । ड्राफ्ट एक कपी मात्रै रहेछ । गिरिजाबाबुले हेरेर हाम्रा महासचिवलाई पढ्न दिनुभयो । माधव कमरेडले पढेर मलाई दिनुभयो । मैले अमृत बोहोरालाई दिएँ । त्यसपछि महेश आचार्यले हेर्नुभयो । यसरी सबैले पालोपालो गरी त्यो ड्राफ्ट पढ्यौं ।

No comments: