ओलीसँग प्रचण्डका यस्ता छन् गम्भीर मतभेद, अनि कसरि मिल्थ्यो कुरा ! - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018

ओलीसँग प्रचण्डका यस्ता छन् गम्भीर मतभेद, अनि कसरि मिल्थ्यो कुरा !


काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गर्न थालेका छन् । त्यति मात्रै होइन ओलीको काम गर्ने शैलीको प्रचण्डले जोडदार रुपमा विरोध गरेका हुन् ।
यद्यपि विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंकालाई ओली–दाहालले मेटाउने प्रयास गरेका छन् । प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् ।
प्रचण्डले माओवादी नेता रामबहादुर थापा गृहमन्त्री भएपछि आफूहरूलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा असन्तुष्टि जनाएका छन् । सचिव सरुवाबारे पनि माओवादीका मन्त्रीहरूसँग परामर्श नै नगरेको आरोप प्रचण्डको छ ।
अहिले राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् ।
७ फागुनमा दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ हुने उल्लेख छ । तर, एमालेले अबलम्बन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१औं सताब्दीको जनवाद लगायतका विषयमा अझै टुंगिएको छैन ।
स्रोतका अनुसार पार्टी एकता गर्दा बैचारिक राजनीतिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउने भन्ने र महाधिवेशनमा भोटिङ गरेर टुंगो लगाउने त होइन भन्ने माओवादीको आशंका छ । साथै महाधिवेशनबाट नेतृत्व चयन पनि सहमतिकै आधारमा गर्नु पर्ने माओवादीको जोड छ ।
पार्टी एकता संयोजन समितिको बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिबारे सामान्य छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफूमाथि आशंका नगर्न आग्रह गरेका छन् ।
एकीकृत पार्टीको केन्द्रीय समिति २९९ प्रस्ताव गरिएको छ । एमाले नेताहरुले जनमतका आधारमा भन्दै २०० एमाले र ९९ माओवादीबाट गर्ने प्रस्ताव गरेका छन् । तर, माओवादी नेताहरुले भने पार्टी एकता सम्माजनक हुनु पर्ने भन्दै ५०–५० प्रतिशत हुनु पर्ने बताएका छन् ।
बैठकमा बैचारिक राजनीतिक र संगठनिक विषयमा कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मा दुई अध्यक्षलाई लिएको छ । चुनाव चिन्ह, जनयुद्ध लगायतका विषयमा विवाद छ ।
‘दुई कार्यदलले प्रतिवेदन पेश गरेको थियो, त्यसमाथि गम्भीर छलफल भयो र प्रस्तावहरुलाई आवश्यकता भए अन्तिम रुपमा परिमार्जन गरेर समितिमा पेश गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको छ’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुलाई भने ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि केही विषय फाइनल टच दिन बाँकी रहेको र त्यो जिम्मा दुई नेतालाई दिएको बताए ।
नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा लगभग टरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन ।

No comments: