काठमाडौं, वैशाख
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाकोबारेमा चीन सरकारसँग कुनै छलफल नहुने बताएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ६ दिने चीन भ्रमणमा जानुपूर्व सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारे ।
चीनले प्राथमिकतामा राखेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) नेपालको पनि प्राथमिकतामा रहेको भन्दै मन्त्री ज्ञवालीले दुवै देश मिलेर त्यसको ‘मोडालिटी’ तयार पारिने बताए ।बीआरआईअन्तर्गत् नेपालको प्राथमिकता पूर्वाधार निर्माणअन्तर्गत् सडक, रेल र ट्रान्समिसन लाइन भएको उनको भनाइ थियो ।
बूढीगन्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको उनको भनाइ थियो ।यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगन्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई दिने निर्णय गरेको थियो । तर, सो निर्णय शेरबहादुर देउवा सरकारले खारेज गरेको थियो ।परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीकोरुपमा पनि लिइएको छ । तर, मन्त्री ज्ञवालीले यस विषयमा स्पस्ट जवाफ दिन चाहेनन् ।आफ्नो भ्रमणको उद्देश्य निर्वाचनपछिको सरकारको विदेशनीति र प्राथमिकताबारे चिनियाँ सरकारलाई जानकारी गराउनु रहेको उनले बताए ।
No comments:
Post a Comment