
अञ्जनाको प्रशंसा गर्दै उनले जवाफ दिए, ‘मेरो कामका कारण मैले छोरी, श्रीमती र पूरा परिवारसँग जति समय बिताउनुपर्ने हो त्यो त बिताउन सकेको छैन । तर मेरो अभाव पनि अञ्जनाले परिपूर्ति गरिरहेकी छिन् । छोरीहरूलाई ‘ननवर्किङ मम’हरूभन्दा बढी केयर गरेकी छिन् गगनका अनुसार अञ्जनाले बरु प्रोफेसनल लाइफमा सम्झौता गरेकी छन् तर परिवारलाई समय दिने मामिलामा दृढ छन् । ‘छोरीहरूलाई आमाले टाइम दिएन भन्नेमा त एक थोपा पनि कम्प्लेन छैन जस्तो लाग्छ,’ उनले भने, ‘बरु टाइम धेरै भनेर कम्प्लेन हुन सक्ला, थोरैमा छैन । विदाका दिनहरूमा उनी छोरीहरूसँगै घुम्न निस्किएकी हुन्छिन् । तीनजनको टीम साथ हुन्छ ।’
गगन र उनकी श्रीमती अञ्जना केसी यो संवाद सुनेर भावुक भएका थिए । गगन–अञ्जनाका दुई छोरी छन्– ६ वर्षकी गार्गी र तीन वर्षकी जियाना। गत जेठ २३ गतेका दिन गगन स्वास्थ्य मन्त्रीको पदबाट विदा हुँदै थिए। त्यहीँ दिन बिहानको सात बजे काठमाडौंको रातोपुलस्थित उनको घरमा पुग्दा ठूली छोरी स्कुल हिँडिसकेकी थिइन्, सानी सुतिरहेकी थिइन्। गगनलाई बैठकमा सहभागी हुने हतार थियो भने अञ्जनालाई पनि समयमा नै अफिस पुग्नु थियो। मेडिकल डाक्टर समेत रहेकी अञ्जना हाल सेभ द चिल्ड्रेनमा ‘न्यू बर्न हेल्थ’ कार्यक्रमकी संयोजक छन्।श्रीमान्–श्रीमती दुबै व्यस्त भएपछि परिवार र छोरीहरूलाई दिने समय कसरी व्यवस्थापन गर्नुहुन्छ? गगनलाई सुरुमै यो प्रश्न सोधियो। ‘अञ्जना व्यस्त त हो। तर उनको लागि सबैभन्दा ठूलो प्राथमिकता छोरीहरू नै हो’,।
गगनका अभिव्यक्तिबाट उनले परिवारलाई पर्याप्त समय दिन नसकेको कुरा प्रष्टै झल्किन्थ्यो । उनी बोलिरहँदा छेउमा रहेकी अञ्जना मुस्कराउँथिन् । दैनिक आफू १–२ घण्टा छोरीहरूसँग घुलमिल हुने गरेको गगनले सुनाए । ‘म चाँही बिहान ९ बजे अफिस पुग्नुपर्छ त्यसैले साढे आठतिर घरबाट निस्किन्छु,’ अञ्जनाले भनिन्, ‘पाँचबजे अफिस सकिन्छ । कतै नअल्मलिकन साढे पाँचबजेसम्म घर आइपुग्छु । अनि बाँकी टाइम छोरीहरूसँग बिताउँछु ।’ अफिस जानुअघि र अफिसबाट फर्किएपछि अञ्जनाले घरको सम्पूर्ण काम गर्ने गगनले बताए । भने, ‘अञ्जना बिहान साढे पाँच बजे नै उठिसकेकी हुन्छिन् । त्यसपछि एक घण्टा योगा गर्छिन् । अनि हामीलाई उठाउन आइपुग्छिन् । खाना पकाउनेदेखि बच्चालाई रेडी बनाएर स्कुल पठाउनेसम्मको सबै काम भ्याइसक्छिन् । अफिसबाट फर्केपछि पनि बच्चालाई खुवाउने, खेलाउनेदेखि सुताउनेसम्म उनको भूमिका हुन्छ ।’
जेठी छोरी उनको कथा नसुनी निदाउँदिनन् । ‘दिनभर समय दिन नसकेपनि म राति घर चाँडो आउने प्रयत्न गर्छु,’ गगनले भने, ‘जेठी छोरी मेरो कथा सुन्न रुचाउँछे । राजधानीमै भएका बेला म उसलाई कथा सुनाउने गरी घर आइपुग्ने कोसिस गर्छु । कतिपल्ट बाहिर हुँदा गाडी चलाउँदै फोनमै कथा भनेर पनि सुनाएको छु । म त घरको कथाकार नै भइसके । के के सिर्जना गर्छु–गर्छु ।’ घरका छोरीलाई दूध खुवाउने, बाथरुम लैजाने जस्ता काममा पनि गगन सक्रिय हुने गरेको बताए । ‘छोरीहरूको स्कुलको कुनै पनि इभेन्ट म छुटाउँदिन,’ उनले भने, ‘उनीहरूलाई अस्पताल लानुपर्नेदेखि उनीहरूका हरेक गतिविधि र शिक्षादिक्षाप्रति अपडेटेड छु । त्यसैले छोरीलाई बेवास्ता गरेको, समय नदिएको भन्ने फिटक्कै होइन ।’ दुःखी गगन: आफूले परिवारलाई चाहेजति समय दिन नसकेको गगनले पनि महसुस गरेका छन् । ‘मैले एक्स्ट्रा इफोर्ट लाउनुपर्ने देखेको छु र लाउछु पनि,’ श्रीमतीलाई देखाउँदै उनले भने, ‘छोरीहरूमात्र होइन हाम्रै सम्बन्धको विषयमा पनि मैले समय दिनुपर्ने महसुस गरेको छु । उनी त पूर्ण रूपमा आत्मनिर्भर छन् । उनले मसँग माग्ने भनेकै त्यही समय हो ।’
त्यसो त गगनले परिवार र छोरीहरूलाई समय नै निकाल्ने भन्ने हाइन । अञ्जना स्वयम् भन्छिन्, ‘उहाँले टाइम निकाल्नुहुन्छ, ननिकाल्ने होइन । मलाई टाइम नदिए पनि छोरीहरू सानै छन्, उनीहरूलाई चाँही दिनुपर्छ भन्छु । उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पर्न दिनुहुँदैन भनेर भनिरहेकी हुन्छु । उहाँले पनि ‘मसँग दुई घण्टा टाइम छ’ भन्दै समय छुट्याउनुहुन्छ पनि । तर रमाइलो गर्नलाई त्यसरी हतारको समयले पुग्दैन भनेर सम्झाउने गर्छु ।’ बिहान छोरीहरू स्कुल नजाँदासम्म गगन उनीहरूसँग समय बिताउन खोजिरहेका हुन्छन् । बिहान–बिहानै घरमै उनलाई भेट्न आउने पाहुना धेरै हुन्छन् । ‘म उहाँहरूलाई कुराएर भएपनि छोरीहरूसँग एकछिन समय बिताइरहेको हुन्छु, कतिपय पाहुना रिसाउनु पनि हुन्छ, गर्ने के ?’, उनले भने । धेरैलाई थाहा छैन, गगन घरमा कथाकार पनि हुन् ।
‘यो व्यस्तताकै बिचमा उहाँले समय मिलाउनुपर्छ । तर हामीले पनि पोजिटिभ वातावरण बनाइदिनुपर्छ,’ उनले भनिन्, ‘उहाँ नभए त हाम्रो संसारमा कोही पनि छैन । उहाँको अभाव महसुस गरेर बेखुशी भयौं भने राम्रो हुँदैन । एकअर्कालाई बुझेर जीवनलाई सुन्दर कसरी बनाउने भन्नेतिर लाग्नुपर्छ ।’ अञ्जनालाई पनि कार्यलयबाट कहिलेकाँही फिल्ड भिजिटमा राजधानी बाहिर जानुपर्ने हुन्छ । तर गगन यात्रामा निस्किएको बेला उनी त्यस्तो भिजिटमा जाने गरेकी छैनन् । भनिन्, ‘मेरो अफिसमा मलाई फुल सपोर्ट छ । सकेसम्म म ट्राभल गर्ने बेलामा गगनचाँही यही भएहुन्थ्यो भन्ने लाग्छ । छोरीहरू सुत्नुभन्दा २० मिनेट अघि भएपनि घरमा उहाँ आइपुग्नोस् भन्ने लाग्छ । उहाँ बाहिर भएको बेला म फिल्ड भिजिटमा जाँदिन । यसरी समय मिलाउने गरेका छौं ।’ संयुक्त परिवारको फाइदा: गगनको परिवारमा आमा, बुबा, सानो बुबा, भाइलगायत थुप्रै छन् । संयुक्त परिवारले उनलाई धेरै फाइदा पनि पुर्याएको छ। ‘छोरीको स्कुल विदा १ बजे हुन्छ,’ उनले भने, ‘आमा–बुबाले घर ल्याउनुहुन्छ। उहाँहरूले नै हेरचाह गर्नुहुन्छ । जोइन फेमिली भएकाले सजिलो भएको छ ।’ उनी सानैदेखि राजनितीमा सक्रिय रहेकाले उनको व्यस्तताबारे आमाबुबा त जानकार नै छन् । तैपनि श्रीमती र छोरीहरूलाई समय दिनका लागि आमाले सम्झाउने गरेको गगनले सुनाए ।
अञ्जना नेपाली कांगे्रसका नेता अर्जुननरसिंह केसीकी छोरी हुन् । बुबा नेता भएकाले आफूले समय नपाएको र नपाउँदा महसुस हुने अनुभव उनीसँग पर्याप्त छ । उनले राजनीतिज्ञको बाध्यतालाई राम्रोसँग बुझेकी छिन् । ‘मैले सांसदको अवधि सकिनासाथ या मन्त्री पदबाट मुक्त हुनासाथ समय दिन्छु भन्दा उनी हाँस्छिन्,’ गगनले सुनाए, ‘उनी नेताहरूको टाइम मेनेज हुनै सक्दैन । भन्ने मात्र हो । मैले मेरो बुबाबाट देखेको छु भन्दै उल्टै जिस्काउछिन् ।’ छोरीहरू स–सानो भएकाले यो उमेरमा उनीहरूसँग धेरै समय बिताउनेपर्ने आवश्यकता गगनले राम्रोसँग अनुभूत गरेका छन् । त्यसैले राजधानी बाहिर पोखरा या विराटनगर पुगेका छन् भनेपनि उनी भरसक अन्तिम फ्लाइटमा भएपनि घर फर्कने प्रयत्न गरिरहेका हुन्छन् । ‘घर पुग्नासाथ छोरीहरूको मुहारमा छाउने खुशीलाई म महसुस गर्न सक्छु,’ उनले भने, ‘तीन वर्षकी सानी छोरीले कहिले तान्छे, कहिले चिथोर्छे । कहिले त रुन्छे पनि । म जति उपलब्ध हुनुपर्ने त्यति हुन नसकेको महसुस म उसको एक्सप्रेसनबाट फिल गर्न सक्छु । जेठी छोरीले सधैं ‘कतिखेर आउनुहुन्छ ?’ भन्ने प्रश्नले पनि मलाई फिल गराइरहेको हुन्छ । ’
राजनीतिबाट क्षतिपूर्ति: गगनलाई लाग्छ– आफूले घरपरिवार र छोरीहरूलाई दिन नसकेको समयको क्षतिपूर्ति राजनीतिक पहिचानले दिइरहेको छ । ‘मलाई समाजले राम्रोसँग चिन्दियो भने र मैले काम गरेर आफ्नो सार्वजनिक व्यक्तित्वलाई जोगाइराख्न सके भने त्यसले फाइदा नै पु¥याउँछ जस्तो लाग्छ’, उनले भने, ‘अबको १०–१२ वर्ष मेरी छोरीहरू गगन थापाको छोरी भन्ने परिचयबाट भाग्नै सक्दैनन् । त्यसपछि त उनीहरूको नामबाट पनि मैले चिनिने मौका आउँला । त्यसैले मलाई राजनीतिबाट कमाएको पहिचानले समय दिन नसकेको क्षतिपूर्ति भइरहेको होला भन्ने लाग्छ । ’ यता अञ्जना गगनको व्यस्ततालाई सकरात्मक रूपमा लिनुपर्ने बताउँछिन् ।
परिवार संयुक्त भएपनि सँगै बसेर खाना खाने वातावरण कमै जुर्ने गरेको अञ्जनाले बताइन् । ‘बच्चा, आमाबुबालाई कुराउने कुरा हुन्न, उहाँको टाइम पनि एउटै हुन्न त्यसैले सँगै खाना खाने मौका कमै जुर्छ,’ उनले भनिन् । व्यस्त होइन, अस्तव्यस्त !: राजनितीमा लागेका अधिकांश नेताको जीवन अस्तव्यस्त देखिन्छ । समय व्यवस्थापन गर्न नसकेको कि व्यस्त नै हो ? भन्ने प्रश्नमा गगनले भने, ‘हामीले समय मिलाउन नजानेकै हो । स्याङ्जाका सांसद शंकर पाण्डे भन्नुहुन्थ्यो ‘हामी व्यस्त होइन, अस्तव्यस्त ।’ अमेरिकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले कुकुर लिएर घर बाहिर हिँडेको तस्बिर नेपालकै पत्रिकामा छापिएको हो । उनीहरूसँग समय हुने हामीसँग नहुने भन्ने हुन्छ ? हामी अस्तव्यस्त नै हो । हामीले विदाको दिन अर्थात् शनिवार यो चाँही परिवारलाई दिने समय हो भनेर भन्न नसकेकै हो ।
तर परिवार राम्रोसँग व्यवस्थापन भयो भने मात्र देशको व्यवस्थापन हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’ ‘स्मृतिहरू बनाउनुपर्छ’: गगनलाई थाहा छ– बालबच्चाको सबैभन्दा ठूलो गुरु आमाबुबा नै हुन् । उनीहरूबाट बच्चाले धेरै कुरा सिकिरहेका हुन्छन् । ‘त्यसैले यो अवस्थामा छोरीहरूले मलाई उसकै वरिपरि देख्न पाउनुपर्छ, नत्र त म पाहुनाजस्तै हुन भइहाले नि’, उनी भन्छन्, ‘अहिले त घरमा सबैकुरा अञ्जनाले गर्छिन् । अरुका बच्चाहरूले फादरले गरेको पनि देख्छन् । मेरा छोरीहरूले त्यो पार्ट नै देखेका छैनन् । उनीहरूलाई त यो सब गर्नेचाँही ममीले नै हो भन्ने भइसक्यो होला ।’ अञ्जनालाई आफ्ना बुवा आमाले उ बेला दिएको समयको अहिले सम्झना आउँछ । ‘मलाई अझै पनि मेरो पापा–ममीले मिलेर होस्टेल पुराइदिएको, घुम्न लगेको दिनहरू याद छ,’ अञ्जनाले भनिन्, ‘आमाबुबाले सँगै दिएको खुशी छोराछोरीले याद गर्छन् । त्यसैले म गगनलाई यो बेलामा स्मृतीहरू बनाउनुपर्छ भन्छु ।’
No comments:
Post a Comment