काठमाडौं – नर्सहरूको पेसा बाहिरबाट जति ग्ल्यामरस देखिन्छ, भित्र त्यत्तिकै पीडादायी छ । लाखौँ खर्च गरेर पढेका नर्सहरूको चरम श्रमशोषण भइरहेको छ । सुरुमा जागिर पाउन कठिन छ, पाए पनि जीवन धान्नै नसक्ने तलब हुन्छ । नर्सहरूको उत्पादन धेरै र माग कम हुँदा हजारौँ नर्सको श्रमशोषण हुने गरेको छ । जसको प्रभाव उनीहरूले दिने स्वास्थ्य सेवामा समेत परिरहेको छ । सरला कट्टेलको रिपोर्ट :
कैलाली टीकापुरकी उर्मिला चौधरीलाई त्यहाँको सरकारी स्वास्थ्य संस्थाले ६ महिनाको भोलेन्टियर्सपछि कामबाटै निकालिदियो । स्वास्थ्य चौकीका कर्मचारीले केही समय भोलेन्टियर्स गर्नुपर्ने बताएपछि उनले जागिर पाउने आशामा भोलेन्टियर्स गरिन् । ६ महिनापश्चात् जब उर्मिलाले पारिश्रमिक मागिन्, काम गर्न नसकेको भन्दै उनलाई अस्पतालबाटै निकालियो । उर्मिलाले न्यायका लागि लड्ने ठाउँ कतै भेटिनन् । सरकारी अस्पतालले अस्पताललाई कमाउने भाँडो बनाउन थालेको उर्मिलाको आरोप छ ।
नेपाली समाजमा छोरीलाई नर्स बनाउने धेरै अभिभावकको चाहना हुन्छ । नर्सिङ पेसामा ठूलो आकर्षण छ । तर, बाहिरबाट हेर्दा यो पेसा जति राम्रो देखिन्छ, यसभित्रका पीडाहरू त्यति नै दर्दनाक छन् । खर्चका हिसाबले पनि नर्सिङ पढ्न निकै महँगो छ । ५ देखि ८ लाख नर्सिङ र १५ लाख रुपैयाँसम्म बिएस्सी नर्सिङ पढ्न खर्च लाग्छ । तर, जति आशा गरेर अभिभावकले छोराछोरीलाई नर्सिङ पढाउँछन् त्यो आशाको परिणाम सोचेजस्तो हुँदैन ।
५ वर्षअघि नर्सिङ सकेकी कञ्चनपुरकी गंगा चौधरीले स्वास्थ्य संस्थामा काम गरेको ४ वर्ष भयो । उनको मासिक तलब अहिले ५ हजार रुपैयाँ छ । चौधरीले कञ्चनपुरकै अस्पतालमा ८ महिना भोलेन्टियर्स गरिन् । उनी त एक उदाहरण मात्र हुन् । काम नगरे आफूमा भएको सीप बिर्सने, काम गरे पकेट खर्च नपुग्ने अवस्था नर्सहरूको छ । उनी भन्छिन्, ‘लाखौँ खर्च गरेर नर्सिङ पढियो । अहिले आफूलाई आवश्यक पर्ने खर्च पुर्याउन अरूको भर पर्नुपर्ने बाध्यता छ ।’
सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् । नर्स प्यासेन्ट रेसियोअनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालका ७२ हजार नर्सले जागिर पाउँछन् । त्यस्तै, विराटनगरमा काम गर्दै आएकी दीपा श्रेष्ठको पनि मासिक ८ हजार रुपैयाँ पारिश्रमिक छ । श्रेष्ठले बिएस्सी नर्सिङ सकेकी छिन् । श्रेष्ठ अब विदेश जाने सोचमा छिन् । उनले भनिन्, ‘विदेशमा नर्सहरूका लागि अत्यन्तै राम्रो अवसर छ । १ हप्ता कमाउँदा १५ दिन मज्जाले खान पुग्छ । नेपालमा दिनको १२ घन्टा काम गर्दा पकेट खर्च पनि पुग्दैन । कति दिन खालीपेट काम गर्न सकिन्छ र ?’ सरकारले न्यूनतम पारिश्रमिक तोकेर अस्पतालमा नर्स प्यासेन्ट रेसियो राख्यो भने पनि नर्सहरू विदेश पलायन नहुने श्रेष्ठको तर्क छ ।
बिएस्सी नर्सिङ गरेकी काठमाडौं बस्ने प्रीति पोखरेलले राजधानीको पुरानो बानेश्वरमा रहेको एक अस्पतालमा १० हजारमा काम गरिरहेकी छिन् । बिएस्सी नर्सिङ गर्न कम्तीमा १५ लाखको हाराहारीमा खर्च हुन्छ । पोखरेल भन्छिन्, ‘मैले ४ हजार पारिश्रमिक लिएर काम सुरु गरेको अहिले १० हजार पुगेको छ । सरकारले निजी अस्पतालको
नियमन नगर्दा र दरबन्दी खाली भएको अस्पतालले पनि दरबन्दी नखुलाउँदा नर्सहरू बेरोजगार भइरहेका छन् ।’
गंगा, दीपा, प्रीति र उर्मिलाको जस्तै नेपालमा नर्सिङ पढ्ने धेरै नर्सको पीडा उस्तै छ । नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार नर्सले आफ्नै समस्या र चुनौती हुँदाहुँदै पनि अस्पतालमा बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर, उनीहरूको समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् ।
No comments:
Post a Comment